स्थापना दिवस (वसन्त पञ्चमी) २०७४ को उपलक्ष्यमा संस्थापक अध्यक्षको शुभकामना सन्देश

स्थापना दिवस (वसन्त पञ्चमी) २०७४ को उपलक्ष्यमा संस्थापक अध्यक्षको शुभकामना सन्देश
मिति २०७४।१०।०८
जरो किलो महाअभियानका सहृदयजन !
स्थापना दिवस हाम्रो लागि विशेष उत्साह, उमङ्ग, उर्जाको अनुभूति गर्ने अवसर हो । वि.सं. २०७२ मा दशैँको घटस्थापनाको शुभ दिनमा जरो किलो महाअभियानको विधिवत् सङ्कल्प गरी सोही वर्ष वसन्त पञ्चमी (श्रीपञ्चमी) को शुभ दिनमा स्थापना सम्मेलन सुसम्पन्न गरेका थियौँ । स्थापना सम्मेलनमा हामीले गरेका अठोट र अपेक्षा अनुसार नै कार्यहरु भएका छन् । प्राप्त सफलतामा सन्तोष लिँदै थप अगाडि बढ्नका लागि उत्साह, उमङ्ग, उर्जाको अनुभूति गर्न सक्ने अवस्थामा हामी छौँ ।
जरो किलो महाअभियान एक अमृत बीजका रूपमा थियो, जो अङ्कुरित भई क्रमशः हुर्किँदै गइरहेको छ । आफ्ना लक्ष्य, उद्देश्य, सिद्धान्त, प्रतिमान, पद्धति, मान्यता आदि आत्मसात् गरेका वा गर्नलाई पात्रता विकास गर्दै रहेका सहृदयजनको एक बृहत्तर परिवार अस्तित्वमा आउनु महाअभियानको यात्रामा निकै ठूलो सफलता हो । विशिष्ट नेतृत्व, सामूहिक कर्तृत्व, संस्थागत स्वामित्वको पद्धतिबाट सहृदयताको सम्बन्धमा अन्तर्सम्बद्ध जनसमुदाय एवं अनेकौँ संस्थाहरुको समेत समष्टि बनेको छ जरो किलो महाअभियान । “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” र “जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति” को उद्घोष स्थापना सम्मेलनमै भएको थियो र हालसम्ममा “सहृदयता समाज नेपाल” र “जरो किलो प्रतिष्ठान नेपाल” पनि संस्थापित भइसकेका छन् । अन्य विशिष्टिकृत संस्थाहरु पनि वैधानिक संस्थापनाको चरणमा रहेका छन् ।
जरो किलो महाअभियानका कर्मका कारणले देश, समाज, समुदायमा परेका सकारात्मक प्रभावहरु प्रशस्त छन् । राज्यराष्ट्र सिद्धान्त, सहृदयता अर्थतन्त्र, आधारशिला चतुष्टय (विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक, सहृदयताको सम्बन्ध) एवं वैज्ञानिक सत्ययुगको सङ्कथनले नेपालको बौद्धिक जगत् र सर्वसाधारण जनमानसमा स्थान पाउँदै गएको छ । राजनीति, शासनतन्त्र, अर्थतन्त्र, शिक्षातन्त्र, संस्कृतितन्त्र आदि सबैलाई मौलिक रैथाने प्रतिमान अनुसार परिभाषित, संरचित, सञ्चालित गर्ने हाम्रो कार्यभारलाई मद्दत पुग्ने गरी वातावरण बन्ने स्पष्ट देखिएको छ । हो, मात्रात्मक र गुणात्मक दुवै हिसाबले हासिल भइसकेका उपर्युक्त उपलब्धिहरुका आधारमा भविष्यमा हामीले निकै कर्म गर्नुछ ।
जरो किलो महाअभियानको यो स्थापना दिवस हामीले आगामी समयमा क्रमागत आवधिक चरणहरुमामा के के गर्ने भनेर विचार विमर्श गरी योजना बनाउने राम्रो अवसर हो । अनुसन्धान, उद्यमशीलता, विकासको पद्धतिलाई व्यवहारतः सार्थक पार्न पात्रता, संस्थागत संरचना, संसाधन जुटिरहेको छ र आगामी समयमा उद्यमशीलतामार्फत् रोजगारी र व्यक्तित्वको विकासको व्यावहारिक कार्यान्वयन गर्नुछ हामीले । अहिलेसम्म सम्पर्क विस्तारको चरणमै रहेका हामीले सङ्गठन निर्माण गर्दै कहिलेसम्ममा “कपूतन्त्र” लाई विस्थापित गरी मौलिक रैथाने प्रतिमान स्थापित गर्न सक्छौँ भन्ने सवालमा स्पष्ट रणनीति, कार्यनीति, कार्य–योजना, कार्यान्वयन बनाउनु छ । अघि बढौँ यो युग हाम्रो हो ।
निर्मलमणि अधिकारी
संस्थापक अध्यक्ष
जरो किलो महाअभियान

Comments